Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शान्ति, अहिंसा र ज्ञानको मार्गतर्फ उन्मुख हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले गौतम बुद्धका शिक्षाहरू दुःख निवारणको मार्गमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ,’ भन्ने बुद्धका वचन उद्धृत गर्दै शाहले मानव जीवनको लक्ष्य ज्ञानको उज्यालो खोज्नु हुनुपर्ने बताएका छन् ।
उनले अँध्यारोलाई उज्यालोको अभावसँग तुलना गर्दै ज्ञानको प्रकाश फैलिँदा समस्या स्वतः समाधानतर्फ उन्मुख हुने धारणा राखेका छन् ।
‘हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ,’ उनले भनेका छन् ।
शाहले बुद्धलाई शान्तिका सर्वकालीन महान् प्रवर्तकका रूपमा स्मरण गर्दै विश्वशान्तिको कामना गरेका छन्। साथै बुद्धको जन्मले नेपालको भूमिलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा रहेको बताएका छन् ।
उनले साँचो क्रान्ति हिंसाबाट नभई ज्ञानबाट सुरु हुने उल्लेख गर्दै ‘क होइन ‘ज्ञ’ बाट क्रान्ति सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,’ भन्ने सन्देश दिएका छन् ।
बुद्ध जयन्तीको सुअवसरमा उनले सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै ‘अप्प दीपो भवः’ अर्थात् ‘आफैं दीपक बन’ भन्ने सन्देशसमेत दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij