Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीस्थित विश्व बैंक समूहको मुख्यालयमा आयोजना हुने प्रतिष्ठित विश्व बैंक समूह युवा सम्मेलन २०२६ मा नेपालकी युवा उद्यमी तथा जलवायु–प्रविधि क्षेत्रमा सक्रिय श्रिषा पाण्डेले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
विश्वभरबाट प्राप्त १० हजारभन्दा बढी आवेदनमध्ये छनोट हुँदै उनले यस अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्।
आगामी जुन ११ र १२ मा आयोजना हुने सम्मेलनको मुख्य विषय “डिजिटल युगका लागि रोजगारीको भविष्य निर्माण” रहेको छ। सम्मेलनमा डिजिटल युगमा रोजगारी, शिक्षा, सीप विकास तथा उद्यमशीलताको भविष्यबारे विश्वस्तरीय छलफल हुनेछ। कार्यक्रममा विभिन्न देशका युवा नेता, नीति निर्माता, विकास विज्ञ तथा नवप्रवर्तनकर्ताको सहभागिता रहनेछ।
श्रिषा पाण्डे वायुदृष्टि की सह–संस्थापक हुन्। उक्त संस्थाले वायु प्रदूषण, सार्वजनिक स्वास्थ्य तथा वातावरणीय तथ्यांकलाई प्रविधिमार्फत समाधान गर्ने काम गरिरहेको छ। उनको पहलले नेपालसहित दक्षिण एशियामा वायु गुणस्तर निगरानी तथा वातावरणीय प्रविधिको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको मानिन्छ।
उनको छनोटलाई नेपाली युवाको क्षमता, नवप्रवर्तनशील सोच र अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थितिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
श्रिषाले सम्मेलनमार्फत नेपालका युवाको आवाज, डिजिटल अवसर तथा दिगो विकासका मुद्दाहरू विश्व समुदायसमक्ष उठाउने बताएकी छन्।
विश्व बैंक समूहद्वारा आयोजित यो सम्मेलन विश्वका १७० भन्दा बढी देशका युवालाई जोड्ने सबैभन्दा ठूलो युवा मञ्चहरूमध्ये एक मानिन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij