
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो ।
सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गर्नुभएको हो ।
सो अवसरमा पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले विमानस्थल विकासको सम्झौताको भावनाबमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पार्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij