Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दरबार हाई स्कूलका बालिकाहरूलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियानअन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो ।
हिजो मंगलबारदेखि काठमाडौँ महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरूलाई (एचपीभी) विरुद्धको खोप लगाउने अभियान शुरू गरेको हो ।
मंगलबार पद्यमकन्या विद्याश्रम मावि डिल्लीबजारबाट काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरूलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरेको थियो । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारणले हुन्छ । एचपीभीका २०० भन्दा बढी किसिमका प्रजाति छन् ।
चिकित्सकका अनुसार यसमध्ये कम्तीमा १२ ओटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको पाइएको छ ।
समय समयमा स्क्रिनिङ परीक्षण गर्ने र १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउने गर्दा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij