Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल–कतार संयुक्त परिषद्को बैठकमा सहभागी कतारका उद्योगी–व्यवसायीको एक प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबिच सन् २०२४ मा गठन गरिएको परिषद्मा सहभागी हुन कतारको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो । माघ २६ र २७ गते काठमाडौंमा परिषद्को बैठक बस्नेछ ।
संयुक्त व्यवसाय परिषद् स्थापनासम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतारबिचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
ढकालको निमन्त्रणामा काठमाडौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीबिच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने महासंघका अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालका अनुसार छलफलहरू परिषद्लाई व्यावहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन् । नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा आकर्षक लगानी अवसर उपलब्ध छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij