Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै रकम असुली लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन बनेको अभियोगमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको जाहेरी दरखास्तका आधारमा गरिएको अनुसन्धानमा विदेश पठाइदिने नाममा ठगी गरेको पुष्टि भएपछि काठमाडौैं महानगरपालिका–११ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका–२ स्थायी घर भई हाल ललितपुर धापाखेल बस्दै आएकी ४३ वर्षीया विना महर्जन र ४५ वर्षीया विन्दा महर्जन रहेका छन् । उनीहरूले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
उनीहरूलाई आइतबार काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको हो। यस घटनामा एक जना पीडित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपर्न तथा वैधानिक प्रक्रिया र आधिकारिक निकायमार्फत मात्रै वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij