Jun 28 2026 | २०८३, असार १४ गते
गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा आर्थिक ऐन र त्यसका प्रावधान विषयक अन्तरक्रिया गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताउनुभयो । हरेक व्यक्तिले गर्ने आर्थिक कारोवारबारे राज्य जानकार रहेको बताउँदै उहाँले कर छल्न खोज्नेहरूप्रति राजश्व प्रशासन नरम बन्न नसक्ने प्रष्ट पार्नुभयो ।
कारोवार बढ्दा खर्च पनि बढ्ने भएकाले ठूलो कारोवार हुँदैमा बढी कर तिर्नुपर्छ भन्ने मान्यता राख्न नहुने बताउँदै उहाँले आफ्नो आयव्ययको विवरण चुस्तदुरुस्त राख्नसके दण्ड र जरिवानाबाट बच्न सकिने र राज्यले दिएका सुविधा उपभोग गर्न करदाता स्वयं सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले कर शिक्षालाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै व्यवसायी भनेका कर लुकाउने वर्ग हो भन्ने मानसिकताबाट कर प्रशासन मुक्त हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत मदनबहादुर केसीले आर्थिक ऐन, २०७७ ले दिएका सुविधाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो भने पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव सुरेन्द्रमान बिजुक्छेलगायतले कर प्रशासन व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घले आफ्नो ६७औँ वार्षिकोत्सवको सन्दर्भमा यो साता विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । विसं २०११ माघ २५ गते पोखराकै जेठो सामाजिक संस्थाका रूपमा सङ्घको स्थापना भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij