Jun 28 2026 | २०८३, असार १४ गते
कर्णाली । यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुबै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा वर्षेनी पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुनसकेन भने जाडोसमेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।
यति बेला जुम्लाको न्यूनतम् तापक्रम करीब चार डिग्री सेल्सियस छ । चिसो नघटेकाले धाराको पाइप जमेर खाने पानी आउन छोडेको चन्दननाथ नगरपालिकाका नन्दबहादुर रोकायले दुखेसो गर्नुभयो ।
बेलैमा हिउँ पर्दा तातो हुने र माघको १५ पछि हरेक जीवको चाल देखिने गरे पनि यो आजसम्म चिसो नघटेको जुम्लाका स्थानीयवासीले जनाएका छन् । चिसोले हिमाली जनजीवन कष्टकर नै छ । यद्यपि यस्तो चिसोमा विद्यालयमा पठनपाठन चलिरहेको छ । करीब नौ महिनासम्म कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित बालबालिकाको पढाइ पुरा गर्न विद्यार्थीकै हितका लागि विद्यालय खोलिएको तिला गाउँपालिका जुम्ला कुडारीस्थित सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले जानकारी दिनुभयो ।
हिउँदे समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुनथालेका छन् भने यस प्रदेशका पहाडी र भित्री मधेशका जिल्ला रुखो बन्दै गएका छन् । कर्णालीको तल्लो क्षेत्रमा पर्ने दैलेख, जाजरकोट, रुकुम–पश्चिम, सल्यान र सुर्खेतमा पानी नपर्दा सुख्खा खडेरी बढेको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
“ठिक समयमा पानी परेन भने किसानले लगाएको बालीबाट अपेक्षित उत्पादन हुन सक्दैन”, उहाँले भन्नुभयो, “यो वर्ष यहाँको पहाडी तथा भित्री मधेशका जिल्लामा अहिलेसम्म पानी परेकै छैन ।” सिञ्चित क्षेत्रबाट उत्पादन हुने बालीको आशा रहे पनि आकाशे भरमा हुने खेतीबाट उत्पादन घट्ने निमित्त निर्देशक रोकायको भनाइ छ ।
हुम्ला, डोल्पा, मुगु, जुम्लामा सामान्यतःपरेको हिउँले जौ, गहुँ र उवा उत्पादक किसानलाई सामान्य राहत मिलेको छ । पुनःहिमपात र वर्षा नभए किसानले लगानी गरे अनुसारको आम्दानी हुन नसक्ने सरोकारवाला बताउँछन् । भारी हिमपात नभएका कारण कर्णालीका स्याउ किसान भने बढी चिन्तित देखिन्छन् ।
सामान्य परेको हिउँले स्याउ उत्पादनमा कुनै पनि सहयोग नपुग्ने तिला गाउँपालिका– ३ जुम्लाका किसान नरबहादुर रावतले गुनासो गर्नुभयो, “अहिले परेको हिउँले जौ, गहुँबाली उत्पादनमा केही सहयोग पुग्ला, रावतले भन्नुभयो, “यो हिउँले चार ईन्च जमीन नभिजेपछि स्याउ बिरुवाका लागि के टेवा पुग्छ र रु”
कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बँेसीतिर लगाइएका स्याउलाई सामान्य सहयोग पुगे पनि लेकमा हिँउ पोखरी बनाएर सिँचाइ हुने र स्याउ उत्पादनमा प्रभाव पर्ने बताउनुभयो ।
“ जुम्ला नेपालकै स्याउ उत्पादनको राजधानी मानिन्छ”, कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, “यसको घटबढले नेपाली बजार नै प्रभावित हुने गर्दछ ।”उहाँले जुम्लामा तीन हजार ८०० हेक्टर क्षेत्रफलमा ११ लाख ४० हजार स्याउका बिरुवा लगाइएको बताउँदै यस वर्ष स्याउका लागि ५० हेक्टर जमीन थपिने बताउनुभयो । अहिलेको हिउँ पानीले स्याउका लागि काफी नहुने भन्दै यसका लागि थप हिमपात आवश्यक भएको उहाँको भनाइ थियो । कार्यालय प्रमुख देवकोटाका अनुसार चैत वैशाखमा तुषारोबाट असर नपरे स्याउ उत्पादनमा फरक पर्दैन । यद्यपि माथिल्लो कर्णालीका स्याउ कृषकले पुनःहिमपात हुन नसके आफूले आशा गरे अनुसारको स्याउ उत्पादन हुन नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij