Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ : होटल व्यवसायी

सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ : होटल व्यवसायी

  • गण्डकी । सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड सङ्क्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल सङ्घ पोखराले आइतबार आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । 

    images
    images
    images

    नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनरकर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीका भनाइ थियो । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

    images

    नेपाल सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनरकर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा ९कोष० कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी विद्युत् माग ९डिमाण्ड० शुल्क तथा महशुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए ।  

    होटल सङ्घ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढङ्गले व्यवसायीले पुनरकर्जा पाउन नसक्नु दुःखद् भएको बताउनुभयो । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई व्यवसायीका समस्याबारे अवगत गराइसकिएको जानकारी दिनुभयो । पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको जनाउँदै यसका लागि व्यावसायिक एकतामार्फत सरकारलाई दबाब दिन जरुरी रहेको धारणा राख्नुभयो । 

    होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको गुनासो गर्नुभयो । पराजुलीले कोभिडको महामारीमा पनि सङ्घले केही महिनाअघि पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोलीसमेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो । यसैगरी भारतमा ‘चलिए पोखरा’ र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनामा सङ्घ रहेको उहाँको भनाइ थियो । 

    images

    सङ्घका सल्लाहकार गोविन्दराज पहारी, अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईलगायतका व्यवसायीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको जनाउँदै यो क्षेत्रलाई रुग्ण उद्योगका रूपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गर्नुभयो । कर तिरेर पनि होटल व्यवसायीले अहिले सङ्कट पर्दा सुविधा पाउन नसकेको उहाँहरुको भनाइ थियो । सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राख्नुभएको थियो । सरकारले पुनरकर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बहाना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको सहभागीको गुनासो थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij