Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक रूपमा आफ्नो आकांक्षा सार्वजनिक गर्दै पार्टी नेतृत्वमा आउने इच्छालाई स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ । देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता अनुसार म अघि बढ्न तयार छु ।’
उनका अनुसार, साथीहरूको सुझाव, समयको माग र राजनीतिक वातावरणलाई सम्मान गर्दै आगामी कदम तय गरिने छ । भण्डारीले फेसबुकमा लेखेका छन्, ‘शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’
नेता भण्डारीले कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापति पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनले १ हजार ५८० मत पाउँदा चौथो स्थान हासिल गरेका थिए ।
यस पटक उनी सभापति पदको दौडमा औपचारिक रूपमा प्रवेश गर्दा पार्टीभित्र नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धा थप चर्किने आकलन गरिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij