Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बारामा भोलि बिहानसम्मका लागि कर्फ्यू लगाइएको छ । स्थानीय प्रशासनले बारा जिल्लाभर आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
भदौ २७ शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि जिल्लाभर कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको आदेशमा अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन र जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन कायम गर्न कर्फ्यू लगाइएको उल्लेख छ ।
विषम परिस्थितिको अनुचित फाइदा उठाउने उद्देश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा क्षति, लुटपाट एवम् आगजनी गर्ने, व्यक्ति लक्षित हिंस्रक आक्रमण रोक्न कर्फ्यू आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij