Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १.राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए  । 

    images

    २.प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै  तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेको हो । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए ।

    ३.नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलेको छ ।    माओवादीकेन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले माइनुटमा हस्ताक्षर गर्छु भनेको तर आत्मालोचना नगरेको बताएका छन् । शर्माले साउन ६ गते दिएको अभिव्यक्ति बारे आत्मालोचना नगरेको बताउदै यस विषयमा फेरी उच्च तहमा छलफल हुने सहमति भएको सापकोटाले बताएका छन् ।

    ४.नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाले एकताका वार्ता गर्न समिति बनाउने लगायतका विषयमा निर्णय गरेको जानकारी दिएका छन् । 

    images

    ५.कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाएको जानकारी दिएको छ । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ । साथै कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने शाखाले जानकारी दिएको छ । परीक्षाका लागि साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । 

    ६.अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको  मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ । अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

    ७.नारायणगढ–बुटवल सडक निर्माणको सरदार भौतिक प्रगति ७० प्रतिशत रहेको छ । नारायणगढ–बुटवल सडक योजनाका अनुसार सडकको कुल ११३.५३ किलोमिटर लम्बाई मध्ये हाल कालोपत्रे र ढलान गरेको सडक गरि कुल ९९.८५ किलोमिटर अर्थात झण्डै १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भइसकेको छ । योजनाले कुल लम्बाईको झण्डै ८८ प्रतिशत पक्की सडक निर्माण सम्पन्न भइसकेको छ भने मुख्यतः दाउन्ने र घोडाहा क्षेत्रको केही भागमा पक्की हुन बाँकी रहेको जानकरी दिएको छ ।  हाल बर्षाको समय भएता पनि मौसमले साथ दिईरहेको कारण दाउन्ने क्षेत्रमा ढलानको कार्य तिब्र गतिमा भइरहेको सडक योजनाले जनाएको छ  । यसैबीच यस सडक खण्डको म्याद अन्तिम पटक एक वर्षको लागि थप गरिएको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक वर्ष थप गरी ०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । 

    ८.बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबि गर्न आव्हान भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि साउन २० गते मंगलबार दिनको २ बजे भित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

    ९.नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपाले संसदको दुरुपयोग गरेको बताएका छन् ।  प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने गरेको उल्लेख गर्दै अब यसलाई बन्द गरिनुपर्ने बताएका छन् ।  उनले भनेका छन्- 'रास्वपा र राप्रपाले ७० दिन देखि संसद बहिष्कार गर्दै आएका छन् । यसले संसदको, सरकारको र जनताको ध्यानाकर्षण भएको छ । यो अभ्यास बन्द भएको छैन । यो कति समयसम्म चल्ने हो । संसदमा उभिएर सधै गालि गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने, भिजिट भिसा भनेको मानव तस्करी  हो ? भिजिट भिसामा बाहिर नजाने को हुनुहुन्छ । यो के भन्न खोजेको हो ।'

    १०.पोखरा पुगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायुको परिवार फर्किन तयार भएको छ ।  वडाध्यक्ष रविन्द्र श्रेष्ठले हायु परिवार सिन्धुली फर्किन तयार भएको जानकारी दिएका छन् ।  साउन १२ गते सोमबार बिहान स्थानीयले हायु परिवार बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजी गर्दा सोहि दिन राती पोखराको गगन गौडामा उनीहरुलाई फेला परेको थियो । वडाअध्यक्ष श्रेष्ठले भनेका छन्- खुसीको खबर, सिन्धुलीको गोलन्जोर गापा वडा नम्बर ६ बाट बेपत्ता भएको १६ जना हायु परिवारहरुलाई आज पोखराको गगनगौडाबाट गोलन्जोर-६ फर्काउने तयारी हुदै ।'

    ११.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद प्रधानले आफुहरु सहयोग गर्न तयार रहेको बताउदै प्रधानमन्त्रीले राप्रपा र रास्वपा बारे गरेको टिप्पणी आपत्तिजनक भएको बताएका थिए ।  रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    १२.नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ ।  वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो । नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा अध्यक्ष एमालेका तर्फबाट विजयी भएका थिए । तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । 

    १३.राष्ट्र्पति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार  उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरि तोकेका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  तुर्कमेनिस्तान प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

    १४.आर्थिक  वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।  सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने नि:शुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।

    १५.नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सोमबार १६.४६ अंकले बढेर आज २८७५.३५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    १६.नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको २२५० मा कारोबार भएको थियो ।

    १७.भारतले इङल्याण्डविरुद्धको पाँचौ टेस्ट जितेको छ । ३७४ रनको लक्ष्य पछाएको इङल्याण्डले टेस्टको पाचौं दिन ३६७ रनमा अल आउट भएपछि भारतले पाँचौं टेस्ट ६ रनले जितेको हो । भारतलाई जिताउन मोहमद सिराजले सर्बाधिक ५ विकेट लिए भने प्रसिद्ध कृष्णले ४ विकेट लिएका थिए । इङल्याण्डका ह्यारी ब्रुक र जो रुटले शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् । यो जितपछि ५ खेलको सिरिज २-२ ले बराबरी भएको छ । सिरिजको पहिलो टेस्ट इङल्याण्डले जितेको थियो भने दोस्रो टेस्ट भारतले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट इङल्याण्डले जितेको थियो भने चौथो टेस्ट ड्र भएको थियो ।

    १८.बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डे र अनीत पडडाको डेब्यू फिल्म 'सैयारा' ले घरेलु बक्स अफिसमा तीन सय करोड क्लबमा पुगेको छ । फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको तेस्रो सातामा ३०५.५० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले रिलिजको पहिलो सातामा १७५.२५ करोड कमाई गरेको थियो भने दोस्रो सातामा ११० करोड कमाई गरेको थियो । फिल्मले तेस्रो साताको शुक्रबार ५ करोड, शनिबार ७ करोड र आइतबार ८.२५ करोड कमाई गरेको थियो ।

    १९.भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ । उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शिबु शोरेनको निधन भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 'आदरणीय दिशाम गुरुजीले हामी सबैलाई छोडेर जानुभएको छ। आज म शून्य भएको छु...' ८१ वर्षीय शिबु लामो समयदेखि अस्पतालमा नियमित उपचार गराइरहेका थिए । शिबु सोरेन विगत ३८ वर्षदेखि झारखण्ड मुक्ति मोर्चाका नेता थिए र पार्टीका संस्थापक संरक्षकको रूपमा चिनिन्छन्। शोरेन २००६ मा भारतको केन्द्रमा कोल मन्त्री बनेका थिए भने २००८ देखि २०१० सम्म झारखण्डको मुख्यमन्त्री रहेका थिए ।

    २०.अमेरिकाको सबैभन्दा प्रतिष्ठित शैक्षिक संस्था हार्वर्ड विश्वविद्यालय ठूलो विवादमा फसेको छ । अमेरिकी कांग्रेसको अनुसन्धानले हार्वर्डले एक दशकभन्दा बढी समयदेखि चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्धित संस्थाहरूसँग औपचारिक साझेदारी कायम राखेको खुलासा गरेको छ । यी सम्बन्धहरू मार्फत, हार्वर्डलाई चीनका भावी नेताहरूलाई तालिम दिन मद्दत गरेको आरोप लगाइएको छ । यस अवस्थामा, अमेरिकी सांसद जोन मोल्नार, टिम वालबर्ग र एलिस स्टेफानिकले एक पत्र मार्फत हार्वर्डले चीनको सत्तारूढ दलको केन्द्रीय संगठन विभागसँग नजिकबाट काम गरेको आरोप लगाउदै यो सी जिनपिङ विचारधाराको प्रवर्द्धन र चिनियाँ नेतृत्वको छनोटमा सहयोगी को भूमिका खेलेको उल्लेख गरेका छन् । विशेष गरी, हार्वर्डको केनेडी स्कूल र चिनियाँ सरकारी संस्था, नेतृत्व एकेडेमी बीच लामो समयदेखि सहकार्य रहेको थियो ।

     

    Single Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij