Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १.सिन्धुलीमा रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१,बस्तीपुरमा झरीबाट बच्न ओत लागिरहेका बालबालिकामाथि रुख ढलेपछि ९ वर्षीय सार्की थिङ र १६ वर्षीया शान्ता गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो करिब साढे ३ बजे वर्षाबाट बच्न ओत लाग्न टहरामा बसेका बालबालिकामाथि अचानक ठूलो रुख ढलेको थियो ।  घटनामा अन्य तीन बालबालिका पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइते १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोललाई थप उपचारका लागि हेटौडा रिफर गरिएको छ भने ७ वर्षीय सुशील थिङको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

    images

    २.अभिनेता सुलेमान शंकर ‘इकु’ लाई पत्नीशोक परेको छ । उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको निधन भएको हो । सम्झनालाई पछिल्लो चार बर्षदेखि मिर्गौला सम्बन्धि समस्या रहेको थियो । साउन १० गते नै निधन भएको भएपनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । अमेरिकामा रहेका छोरा फर्किए पछि शुक्रबार अन्त्येष्टि गरिएको हो । सम्झना र इकुका एक छोरा र एक छोरी छन् ।

    ३.पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा काश्य पदक जितेकी छन् । पलेशाले महिला ५७ केजी मुनि के-४४ मा कास्य पदक प्राप्त गरेकी हुन् । यो पदक उनको छैठौ आधिकारिक अन्तर्राष्ट्रिय पदक रहेको छ ।

    ४.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । रास्वपाका प्रवक्ता मनिष झासँग धनुषाको हंसपुर नगरपालिकास्थित सुख्खाग्रस्त खेतको अवलोकन गर्दै डा. वाग्लेले मधेसको मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण भएको बताएका छन् । डा. वाग्लेले खडेरीका कारण धानको बिउ सुक्दै गएको र खेत बाँझो रहेको दृश्यहरु देखाउँदै लहलह धान फल्ने ठाउँमा अहिले बिउहरू सुक्दै गएको आफुहरुले देखेको बताए । उनले चुरेको दोहन, पानी संचय गर्ने परम्परागत विधि क्षय भएको, आधुनिकीकरणका कारणले र अझ बृहत रुपमा जलवायु परिवर्तनको असरका कारण यस्तो भएको बताए ।

    images

    ५.भारतको कर्नाटकका पूर्व सांसद प्रज्वल रेवन्ना बेंगलुरुको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले रेवन्नालाई शनिबार यस मुद्दामा सजाय सुनाउने बताएको छ । निर्वाचित प्रतिनिधिहरूसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्न गठित विशेष अदालतले एफआईआर दर्ता भएको १४ महिनापछि यो फैसला सुनाएको छ । प्रज्वल रेवन्नाविरुद्ध पहिलो मुद्दा हसन जिल्लाको ग्रामीण प्रहरी चौकीमा दर्ता भएको थियो । हसन जेडीएसको गढ हो र प्रज्वल रेवन्ना पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् । एक महिलाको उजुरीमा अप्रिल २८ मा प्रज्वल विरुद्ध पहिलो एफआईआर दर्ता गरिएको थियो ।

    ६.दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म जारी-२ आगामी असोज ३ गते प्रदर्शनमा आउने भएको छ । उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्म जारी-२ संविधान दिवसको विदा पारेर प्रदर्शन हुने भएको हो । शुक्रबार पोस्टर सार्बजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको छ ।  कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

    ७.भारत इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा २२४ रनमा अल आउट भएको छ  । टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २२४ रन बनाएर अल आउट भएको हो । भारतका लागि करुण नायरले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै साइ सुदर्शनले ३८, वाशिंटन सुन्दरले २६, शुभमन गिलले २१, ध्रुव जुरेलले १९ रन र केएल राहुलले १४ रन बनाएका थिए । त्यसैगरी इङल्याण्डका बलर गुस अटकिन्सनले सर्बाधिक ५ विकेट लिए भने जोश टंगले ३ विकेट तथा क्रिस वोक्सले एक विकेट लिएका थिए । 

    ८.प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे ।

    ९.भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ । भारतीय निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको लागि हुने निर्वाचन सेप्टेम्बर ९ मा हुने मिति घोषणा गरेको हो । उपराष्ट्रपति जगदीप धनखडले जुलाई २१ मा स्वास्थ्यको कारण देखाउदै उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसबेलादेखि उपराष्ट्रपति पद खाली छ । उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मिति अगस्त २२ रहेको छ भने सेप्टेम्बर ९ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ भने मतदानपछि सोहि दिन मतगणना गरिने छ । उपराष्ट्रपति पदका लागि भारतीय लोक सभा र राज्यसभाका सांसदहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

    १०.गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रुपमा देखिएको बताए । उनले भने- 'लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।' 

    ११.नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने भएको छ । नेपाल प्रहरीले वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने जानकारी दिएको हो । प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    १२.यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षले माघ १ गतेलाई रिलिज डेट लक गरेको हो । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो । छायांकनको सेटबाटै निर्माणपक्षले रिलिज मिति सार्वजनिक गरेको छ । “हामीले माघ १ गते आउने निर्णय गर्‍यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ गते आउने निर्णय गरेका हौँ,” निर्देशक शेर्पाले भने । अहिले यो चलचित्रको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ । चलचित्रको अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा र केही दृश्य चित्लाङमा भएको छ ।

    १३.पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीएस) ले देशको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यहरूलाई जेल सजाय सुनाएको छ । सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप छ । मे २०२३ मा, सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो ।

    १४.प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण बारे जानकारी दिदै सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

    १५.नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २२३५  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२७० मा कारोबार भएको थियो ।

    १६.नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् । प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुद्धा भ्रष्टाचारको नभएको बताउदै प्रतिशोध भएको बताएका हुन् ।

    १७.किस्तानले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न सिरिजको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १४ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १७९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यस अघि  टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । यो जितपछि पाकिस्तान ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

    १८.खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको आमरण अनशनबारे भएको वार्ता निष्कर्षविहीन भएको छ । विहिबार सरकार पक्ष र अनशनरत पक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको हो । वार्ता टोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगारपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार एक साताभित्र बाँसको नम्स, दर रेट तथा बिल्डिङ कोड निर्धारण गर्नुपर्ने भन्ने विषयमा कुरा नमिलेका कारण सहमतिमा पुग्न नसकेको हो । साउन १४ गतेदेखि माइतीघरमा अनसन गरिरहेका भट्टराईको स्वास्थ्यमा समस्या आएपछि गएरातीदेखि वीर अस्पतालमा भर्ना गरिएको छ ।

    १९.म्यानमारको सैन्य सरकारले आपतकालको अवस्था अन्त्य गर्ने घोषणा गरेको छ । जुन उसले साढे चार वर्षअघि सत्ता कब्जा गरेपछि लगाएको थियो । यससँगै, सैन्य सरकारले वर्षको अन्त्यमा हुने नयाँ चुनावको तयारीका लागि आफ्नो प्रशासनिक संरचना पुनर्गठन गरेको छ । पुनर्गठन अन्तर्गत, सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङले दुई पद छोडेका छन्, तर उनी शक्तिको केन्द्रमा राख्ने अन्य पदहरूमा रहनेछन् । यी संयुक्त घोषणाहरू त्यस्तो समयमा गरिएका हुन् जब आपतकाल अन्तर्गत लगाइएको लगातार अवधिको अन्तिम अवधि बिहीबार मध्यरातमा समाप्त हुन लागेको थियो । जानकारी अनुसार, नयाँ संघीय सरकारको जिम्मेवारी यू न्यो सावलाई प्रधानमन्त्री बनाएर हस्तान्तरण गरिएको छ, जबकि वरिष्ठ जनरल मिन आङ ह्लाइङलाई राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षको रूपमा नियुक्त गरिएको छ ।

    २०.नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा कार्यक्रम गरिएको हो । समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गत वर्षसम्म अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो। राष्ट्रिय दिवसको रूपमा स्थापना भएपछि कोदोलाई अझ संस्थागत र वैज्ञानिक रूपमा प्रवद्र्धन गर्न सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन् । जुम्लामा रहेर रातो कोदो प्रवर्धन तथा कर्णालीमा उपलब्ध कोदोका बिउहरू संरक्षण गर्ने किसान कविता जौसीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा कृषिमन्त्री अधिकारीले प्रमाणपत्र र नगद १५ हजार सहित सम्मान गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij