
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बढ्दो क्रममा छ । आइतबार सरदर तापक्रम ३०.५ डिग्री सेन्टिग्रेड रहेकोमा सोमबार बढेर ३१.६ डिग्री पुगेको थियो। मंगलबार पनि यो ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ । जून महिनाको लागि राजधानी काठमाडौंको सरदर तापक्रम २९.५ डिग्री सेन्टिग्रेड हो ।
‘वर्षा हुन नसकेको र बादल पनि नलागेको कारण तापक्रम बढेको हो,’ महाशाखाका मौसमविद डेविड ढकालले भने । बिहानको न्यूनतम तापक्रम पनि सोमबार २०.४ डिग्री रहेकोमा मंगलबार यो बढेर २१.८ डिग्री सेन्टिग्रेडमा उक्लेको थियो ।
नेपालको पूर्वी क्षेत्रमा जेठ १५ बाटै मनसुन प्रवेश गरे पनि यसको विस्तार हुन सकेको छैन । यसअघि यसै वर्षको अप्रिल २४ मा काठमाडौंमा सर्वाधिक ३३.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
काठमाडौं मात्रै होइन हाल नेपालगन्ज तथा दिपायल लगायतका सहरमा पनि तापक्रम सरदरभन्दा अत्यधिक रहेको छ । जून महिनाको लागि नेपालगन्जको सरदर तापक्रम ३६.६ डिग्री रहेकोमा सोमबार यो ४१ डिग्री सेन्टिग्रेड पुगेको थियो । यसैगरी धनगढीको जून महिनाको सरदर तापक्रम ३६.३ डिग्री रहेको सोमबारको अत्यधिक तापक्रम ४०.२ डिग्री सेन्टिग्रेड रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij