
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन् । बजेट स्वीकृत भए लगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।
मुख्यसचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे ।
बैठकमा चालु आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो । बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए ।
उनले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणको लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताउँदै प्रक्रिया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई अनुरोध गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij