
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् ।
सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन समेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए ।
नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ, मन्त्री पौडेलले भने, तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन । ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलले बताए ।
तर विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नु परिरहेको बताए । ‘यो समस्या सम्बोधन गर्नका लागि हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौं,’मन्त्री पौडेलले भने ।मन्त्री पौडेलले यस्तो सहायताले मात्र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि यो जरुरी रहेको बताए ।
मन्त्री पौडेल आजबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी छन् । न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले द्विपक्षीय वार्ताका साथै त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij