
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं ।‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, सङ्घीयता खारेज गरौं’ भन्ने नारासहित राष्ट्रिय जनमोर्चाले आन्दोलन सुरु गरेको छ । राजसंस्था पुनः स्थापनाको मागसहित आन्दोलन भइरहेका बेला जनमोर्चाले भने गणतन्त्र रक्षा हुनु पर्ने माग गर्दै सडक आन्दोलन थालेको हो ।
जनमोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा नेपालको परिप्रेक्षकमा सङ्घीयता भने अभिशाप भएको बताएको छ । कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको दोहोर्याउँदै उसले सङ्घीयताको प्रधान पक्ष त्यसको प्रादेशिक संरचना भएको बताएको छ ।
जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले धेरै नै कमजोर देशका लागि सङ्घीयता देश र जनताको हितमा नभएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । तैपनि विदेशी साम्राज्यवादीहरूको निहित स्वार्थ पूरा गर्न उनीहरूको दबाबमा नै नेपालका विभिन्न राजनीतिक पार्टीहरूले सङ्घीयतालाई नेपालमाथि लादेका हुन् । त्यसका साथै सङ्घीयताका कारणले देशमा जातीय विग्रह पैदा हुने र देश टुक्रा टुक्रा हुँदै जाने खतरातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’
स्थानीय निकायलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जनमोर्चाको माग छ । आन्दोलन ३० गतेसम्म जारी रहने बताउँदै जनमोर्चाले गणतन्त्र, राष्ट्रियताको रक्षा र सङ्घीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकताबद्ध हुन र सङ्घर्षमा उत्रन सबैमा अपिल पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij