
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाराकी ३० वर्षीया आरती यादव छन् । वीरगन्ज बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधबार राति ८ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
वीरगन्ज शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए ।
‘नेपालबाट भारत र भारतबाट नेपाल आउने पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा यादव पक्राउ परेकी हुन्,’ मिश्रले भने ।
यादव हातमा रातो जर्किन बोकेर भारततिर जान लागेकी थिइन् । शंका लागेर जर्किन खोल्दा प्लाष्टिकमा सानो-सानो पोकामा लुकाएर राखिएको चरेस फेला परेको मिश्रले बताए ।
यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij