
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । न्यूजिल्याण्डका आक्रामक ब्याटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले व्यावसायिक लिग भने खेल्ने छन् ।
‘लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो । तर, अब समय आएको छ । मैले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने निर्णय गरेको छु,’ सन्न्यास घोषणा गर्दै गप्टिलले भनेका छन् ।
उनी हाल न्यूजिल्यान्डको घरेलु टी–२० लिगमा अकल्याण्डबाट खेलिरहेका छन् । ३८ वर्षीय गप्टिलले न्यूजिल्याण्डका लागि अन्तिमपटक सन् २०२२ को अक्टोबरमा खेलेका थिए ।
उनले न्यूजिल्याण्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ विकेट पनि लिएका छन् । गप्टिल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्यान्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर हुन् ।
उनले यस प्रारूपमा १२२ टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् । गप्टिलले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) पनि खेलेका थिए । विराटनगर किंग्सबाट लिग खेलेका उनले एनपिएलमा ६ खेलमा १३७ रन बनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij