
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाण्डौ : प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने भएको हो ।
दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुई वटा टर्फ पिच निर्माण गरिएको छ । टर्फ पिचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो ।सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ । पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम खेल्नेछन् । यही दिनको दोस्रो खेलमा डोटी र बझाङ खेल्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो हप्तादेखि धनगढीमा हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij