
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं : दक्षिण कोरियामा आइतबार भएको भयानक विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । मृतकका परिवार शोकमा परेका छन् ।
यस दुर्घटनामा ७८ वर्षीय माङ गि-सुका भतिजा र भतिजाका दुई छोराको पनि मृत्यु भएको छ । उनका भतिजाका दुई सन्तान कलेजको प्रवेश परीक्षा सकिएकोमा खुसी मनाउँदै थिए । मङले बीबीसीलाई भने, ‘पूरै परिवार ध्वस्त भएकोमा म विश्वास गर्न सक्दिनँ । जेजु एअरमा सवार धेरै यात्रु थाइल्याण्डमा क्रिसमस मनाएर घर फर्किरहेका थिए । दुर्घटनामा परी मृत्यु भएकामध्ये एककी काका जोङलुक डोङमानीले बीबीसी थाईलाई यो खबर सुनेपछि आफू स्तब्ध भएको बताए ।
७१ वर्षीय वृद्ध बुबा जिओन जे यंगले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा भने, ‘छोरी मी सुकलाई उनको औंलाको छापबाट पहिचान गरिएको थियो । उनी आफ्ना साथीहरूसँग बैंककबाट फर्कदैँ थिइन्। जिओनले भने, ‘मेरी छोरी करिब ४० वर्षकी भइन् । अन्तिम पटक मैले मेरी छोरीलाई डिसेम्बर २१ मा देखेको थिएँ ।
दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको डीएनए पहिचान गर्न र्यालको नमूना लिइएको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गर्ने क्रममा ठूलो विमान दुर्घटना भएको थियो । जसमा १७९ जनाको मृत्यु भएको थियो । यो विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । यस दुर्घटनामा दुई जनालाई भग्नावशेषबाट जिवितै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुबै चालक दलका सदस्य हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij