
Apr 04 2025 | २०८१, चैत २२ गते
भक्तपुर, चांगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारको रुपमा रहेको काठमाडौँ उपत्यकाको केन्द्रभागमा अवस्थित मध्यपुर थिमि नगरपालिका ऐतिहासिक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न छ । थिमि र बोदेजस्ता लिच्छविकालिन बस्तीको साथै नगदेश, तिगनि, निकोसेरा र लोहँकीथलि लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, संस्कृति, परम्परागत पेशा, प्रकृति, पुरातात्विक सम्पदा र मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ । झण्डै ७५० को हाराहारीमा सानाठूला मूर्त सम्पदाहरु एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको म्ये प्वाः खनिगु जात्रा, ३२ खतको बिस्काजात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं जात्रा, पुलुकिसि जात्रा विशेष रूपले चर्चित छ । त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ । अधुनिकीकरण तर्फ द्रूत गतिमा अग्रसर राजधानीको संसर्गमा रहेर पनि यस नगरले अफ्नो परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको छ । समग्रमा यहाँको परम्परागत कला, संस्कृति, पेशा, मनोरम प्रकृति एवम् पुरातात्विक स्मारकहरूले मध्यपुर थिमि नगरलाई सुन्दर, अनुपम र जीवन्त बनाएको छ ।
पर्याप्त प्रवर्द्धनको अभावमा प्रचुर संभावनाको बावजुद मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न नसकिरहेको सन्दर्भ र सन् १९९८ मा आयोजित पहिलो मध्यपुर महोत्सव तथा यसपछि सम्पन्न वः महोत्सव, धिमेबाजा प्रतियोगितालगायतका आयोजनाहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव छ । यसको साथै पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ अनि स्थानीय सम्पदालाई रोजगारी र आयसँग जोडेर स्थानीय अर्थतन्त्रहरूलाई थप प्रगतिशिल बनाउन सकिन्छ । यिनै परिदृष्य र अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुँदैछ । मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई निम्न रणनीतिक आयामहरू मार्फत् एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइनेछ । जसले महोत्सव व्यवस्थित मात्रै होइन आगन्तुक र आयोजकमा अकल्पनीय छाप छोड्न सफल हुनेछ ।
महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको छ । यसका वस्तुगत उद्देश्यहरु निम्नानुसार रहेका छन् ।
२०८१ पुष १२, १३ र १४ ९ बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म
नेसं ११४५ थिंल्लागाः १२, १३ र १४
2024 December 27, 28 and 29
थिमि शंखधरचोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका एतिहासिक बस्ती क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिनेछ । यसरी यो महोत्सव करिब ५।५ किमि लामो क्षेत्रमा संचालन हुनेछ ।
महोत्सवमा के के अवलोकन गर्न सकिन्छ
विषयगत रूपमा महोत्सवमा स्थानीय कला, संस्कृति, पेशा, प्रकृति, सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ भने महोत्सवलाई सबै उमेर समुह वृद्ध, वयस्क, युवा, बालबालिका, विशेषज्ञ, नेवारी परिकारका पारखी आगन्तुकहरूर रूचीलाई केन्द्रमा राखी महोत्सव डिजाइन गरिएको छ । मूलतः महोत्सवमा निम्न विधाहरूको जीवन्त अवलोकन र अनुभव गर्न सकिनेछ ।
क्वलाखु अजिमा (बालकुमारी परिसर, लोकेश्वर मन्दिर परिसर, थिमि लायकू परिसर, सिवाः परिसर, दिगू परिसर, इनायक्व (सिद्धिकाली परिसर), पाटीविहार परिसर, न्यागाः परिसर, लाछि (सिद्धिगणेश परिसर), पाचो तथा बोदे लायकू परिसर, पलिस्वां पुखू तथा कालिका मन्दिर परिसर, विष्णुघाः परिसर, भांगु ९महालक्ष्मी० परिसर, तधांटोल परिसर, नीलबाराही मन्दिर परिसर आदि ।
महाकाली नाच, अष्टमातृका नाच, थिमि लाखे, नागाचा प्याखं, इन्द्र अप्सरा, पुलुकिसि, जात्रा गरिने खत प्रदर्शनी आदि ।
लैलै (घ्वाँय् कासा वा पाँय् कासा), खिपः कासा, यकंधाला, गाडी ब्वाकेगु, घःचाः तुइकेगु, तुतुमाकचा, ह्वाकरा, पाँयचा, कसि, गुच्चा, मचाकथि, ख्वःसिं आदि ।
माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, रक्सि बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्तीकला, हस्तकला आदि ।
भजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजासहित नगरपरिक्रमा आदि ।
समय् बजि, वः, चटांमरि, योमरी, कःचा, चाकुवासः, साखःसलां, तःखा, अयलाः, थ्वं आदि ।
विशेष नेवाः भ्वय्, चौरासि व्यञ्जन भ्वय्, सजंबुजं भ्वय्
नेवाः भ्वयका प्रकारहरू, जिब्रो छेड्ने जात्राको डम्मी, भैलःको डम्मी, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाः समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा आदि ।
हस्तकला, टिकिं बजि (चिउरा), माटो र माटोको भाँडाकुँडा, सेरामिक, ताजा तरकारी, चाकुवासः, मध्यपुरको मीठो दहि, बिभिन्न प्रकारका बिउबिजन र बोटविरूवा, गेडागुडी, घरबुना कपडा र यसबाट बनेको लुगाफाटो, पाउँ, मरमसला, मुकुण्डो, शुद्ध तोरीको तेल आदि ।
विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगितिक प्रस्तुती
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij