Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

हिसाब हेर्न ज्ञानेन्द्र पसेपछि महानगरमा हल्लीखल्ली

हिसाब हेर्न ज्ञानेन्द्र पसेपछि महानगरमा हल्लीखल्ली

  • ललितपुर महानगरको प्रत्येक शाखामा पुगेर शाहीले फाइल हेर्ने र त्यहाँ कार्यरत कर्मचारीहरुसँग उजुरीको विषयमा क्रसचेक समेत गरे ।

    पुस २९ गते बुधबार । बिहान दश बजेर ३२ मिनेट । ललितपुर महानगरपालिकाको ढोकैमा एउटा सेतो गाडी रोकियो । गाडीबाट ओर्लिएका अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीसँगै चारजना सहकर्मीसहित महानगर पस्ने बित्तिकै हल्लाखल्ला भयो । शाहीको पाइला हेरिरहेका महानगरका धेरै कर्मचारीहरुले विभिन्न लख काटिसकेका थिए । 
    सबैभन्दा पहिला ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको कार्यकक्षमा टेकेका शाहीले मेयरलाई देखेनन् । त्यहाँबाट उपमेयर गीता सत्यालको कोठामा पुगे । सत्यालपनि कार्यकक्षमा थिएनन् । शाही भन्दै थिए, ‘कार्यालयको समयमा कोही नभेट्नु भनेको ज्यादगी र मनमौजी भयो ।’

    उनी त्यसपछि प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाको कार्यकक्षमा पुगे । कोइरालालाई पनि भेटेनन् । त्यसपछि पुनः माथि उक्लिएर आधिकारिक व्यक्तिको खोजीनिति गर्न थाले । यो खोजी भईरहँदा मेयरको सचिवालय अधिकृत विश्वेश्वर कोइरालाले सहजीकरणको प्रयास गरे । ज्ञानेन्द्र शाहीलाई छलफल कक्षमा राखे । शाहीले खोजिरहेको विषयमा सकेसम्म जवाफ दिने प्रयत्न गरिरहे । शाहीले प्रवक्तासँग कुरा गर्न खोज्दा समय नलिइकन आएकोमा भेट हुन नसकेको प्रष्टिकरण दिइरहे । 

    ज्ञानेन्द्र शाहीले ललितपुर महानगरको कुनाकुना पुगेर निगरानी र अनुगमन गरिरहँदा मेयर चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला पाटनढोकास्थित नवनिर्मित नर्सिङ मन्दिर क्षमापूजामा संलग्न थिए । अन्तिम साइत अनुसारको पूजामा संलग्न भईरहँदा पनि ज्ञानेन्द्रसँग मेयरले कुराकानी गर्न भ्याए । मेयर चिरिबाबुले फोनमा भन्दै थिए, ‘तपाईँ एक्कासी आउनुभयो । समय लिएर आउनुभएको भए, प्रत्यक्ष बसेर धेरै कुरा प्रष्ट पार्थे । म अहिले पूजामा छु ।’ तर ज्ञानेन्द्रले ललितपुर महानगरविरुद्धको उजुरीको बारेमा सुनाउँदै गर्दा मेयरले भने, ‘भोली सार्वजनिक बिदा छ, पर्सि माघ २ गते आउनुस् । तपाईँले खोजेको कुराको सबै जानकारी म दिन्छु ।’ यो सम्वादपछि ज्ञानेन्द्र उठे र महानगरको अन्य शाखातिर हानिए ।

    यसैबीचमा उपमेयर गीता सत्याल भने त्यो दिन बिहानै ललितपुर महानगर पसेका थिए । राजश्व परामर्शको बैठक सिध्याएर अरु एउटा कार्मक्रममा सहभागी हुन निस्किएकी हुन् । उपमेयर बाहिरिएको दश मिनेट नबित्दै ललितपुर महानगरमा ज्ञानेन्द्र पसेका थिए ।  

    ललितपुर महानगरको प्रत्येक शाखामा पुगेर शाहीले फाइल हेर्ने र त्यहाँ कार्यरत कर्मचारीहरुसँग उजुरीको विषयमा क्रसचेक समेत गरे । शाहीले पार्किङको विषयमा र कर्मचारीले मनोमानीरुपमा लिएको भत्ता र अतिरिक्त शुल्कमा बढी केन्द्रित भएका थिए । ज्ञानेन्द्रको यो छड्केले धेरै शाखाको ताजा अवस्था उनका सहकर्मीले नोट गरिरहेका थिए । यो एकातिर चर्चाको विषयपनि बन्यो ।

    तर अर्काेतिर ‘किन र कसरी एक्कासी ज्ञानेन्द्र शाही ललितपुर महानगर पसे ?’ भन्ने चर्चाको विषयपनि बन्यो । शाहीले करिब एकघन्टा ललितपुर महानगरमा केरकार सिध्याएर मेयर चिरिबाबुसँगको सम्वादमा चित्त बुझाएर बाहिर निस्किए । ललितपुर महानगरका सूचना अधिकारी रुद्र गौतमका अनुसार ज्ञानेन्द्रका सहकर्मीहरुले पार्किङसम्बन्धी आवश्यक कागजातहरु लगिसकेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij