
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो ।
ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का त्रिपुरेश्वर शाखाका प्रमुख सुमनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएका छौँ ।” उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताउनुभयो ।
केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार शनिबारदेखि तोकिएको तालिकाअनुसार पानी वितरण हुने छ । गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । ती योजना मर्मत कार्य थालिएको खानेपानीमन्त्री यादवले जानकारी दिनुभयो । -रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij