Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत जुलाईयता डेङ्गीको सङ्क्रमण दर बढ्दै गएको छ । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेङ्गी देखिएको छ । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।
हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
डेङ्गीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij