
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो देखाइएको हो । भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन अनुसार राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी थिए । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमतीको लागि प्रस्थान गराइएको छ ।
सुरक्षा दृष्टि
ललितपुर प्रहरीको सुरक्षा रणनीति निकै सफल बन्यो । नेपाली सेना र सशस्त्र प्रहरीको समन्वयले भीडभाड कन्ट्रोल भयो । स्काउट, नगर प्रहरी र नेपाल प्रहरीको टोलीले मिजासपूर्वक भीडलाई सहजीकरण गरेको पाइयो । ट्राफिक प्रहरीले पनि सवारी आवतजावतलाई सहजतापूर्वक मिलाए । समाजबाट तैनाथ भएका ज्यापू समाजका पदाधिकारीहरु र अन्य समाजका तर्फबाट खटिएका स्वयमसेवकहरुले पनि भक्तजनहरुलाई हुलमुलबाट सहजीकरण गरेको पाइयो । नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुको नेतृत्वमा खटिएका नगर प्रहरी बलले जावलाखेल सरसफाईसँगै हुलमुललाई नियन्त्रण गर्न बिहानैदेखि खटिएको पाइयो ।
भीआइपी दृष्टि
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका निजी सचिव इन्द्र बजाचार्यले जात्रामा सरिक सम्पूर्ण विशेष अतिथिलाई मञ्चसम्म स्कर्टिङ गरेको देखियो । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना नेपाल र महानगरका प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले आतेजाते विशिष्ट अतिथिलाई मुस्कानसहित स्वागत गरेको दृश्य रोचक रह्यो ।
गृहमन्त्री रमेश लेखक मञ्चको अग्रपक्तिको कुर्सीमा बस्दा प्रहरी प्रमुख बसन्त कुँवर र सशस्त्र प्रमुख राजु अर्याल शान्त शैलीमा पछाडि बस्न गए । जात्रा नियालिरहँदा एकजना मन्त्रीले परराष्ट्रमन्त्री आरजु देउवा आउने बित्तिकै गृहमन्त्रीसँगै कुर्सी छोडेर पछाडि बस्न गए । आरजु देउवाले जावलाखेल टेक्ने बित्तिकै पहिला रातो मच्छिन्द्रनाथको एक फन्को लगाए । रातो कपडामा पोको पारेर ल्याएका केही सिक्काहरु चढाए । अन्य मन्त्रीगण र विशिष्ट पाहुनाले भने भोटो जात्रा समापनपछि रथको फन्को लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन हुँदा उनले मात्रै पत्रकारतिर फर्किएर अभिवादन शैलीमा हात हल्लाए । उपराष्ट्रपतिलाई विशेष आसनको व्यवस्था हुँदाहुँदै पनि उनी झुक्किएर मन्त्री भएतिर पुगेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले भोटो जात्राका विशिष्ट पाहुनलाई नमस्कार गरेर स्वागत गरिरहँदा ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले भने सुरक्षाबारे सुक्ष्म अपडेट लिन व्यस्त देखिए ।
भोटो जात्रासँगै राष्ट्रपति रामचन्द्र पौडेललाई महानगरका मेयर चिरीबाबु महर्जनले रथको परिक्रमा गराउँदै ललितपुरका विशेष व्यक्तित्वहरुलाई परिचित गराए । ललितपुरका केही वडाध्यक्षहरु मात्रै यो विशेष जात्रामा खटिएको पाइयो । जावलाखेल टेकेका प्रमुखहरुलाई बिदाईको समयमा महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य सक्रिय देखिए ।
यता आफ्नै 'स्टाइल' मा ललितपुर पसेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भने धेरै सँग बोलचाल गरेको देखिएन । भोटो जात्रापछि रथको फन्को लगाएर उनी फर्किए ।
यसैबीच, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले भोटो जात्रा नियालेर मीननाथको रथसँगै नगर प्रहरीका घेराभित्र सुरक्षित हुँदै फर्किन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij