
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक स्थानका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । एरोशान कम्पनीले सञ्चालनमा ल्याएको नयाँ बानेश्वरको शौचालय, त्रिपुरेश्वर र भद्रकालीको सार्वजनिक शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् ।
यसअघि तीनै वटा सार्वजनिक शौचालयमा सेवाग्राहीले शुःल्क तिर्दै आएका थिए । काठमाडौँ महानगरपालिकाले तीन ठाउँको शौचालय सञ्चालकसँग सहमति गरेपछि सेवाग्राहीले शुःल्क तिर्न नपर्ने भएको हो ।
महानगरका नगर प्रहरी बद्रीमान नगरकोटीले महानगरको सार्वजनिक स्थानमा सञ्चालनमा रहेका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने गरेर अभियान चलाइएको बताए ।
उनका अनुसार यसअघि शौचालय प्रयोग गरेबापत शुल्क तिर्नु परे पनि अबदेखि तिर्नु पर्दैन । शौचालय प्रयोग गरेबापत सेवाग्राहीले १० रुपैयाँ तिर्दै आएका थिए ।
महानगरले शौचालय सञ्चालकलाई निजी साझेदारी अन्तर्गत अनुदान दिने गरेर छलफल चलिरहेको जनाएको छ । कम्पनीले महानगरसँग शौचालय सफाइ गर्न राखिएको कर्मचारीलाई तलब दिन केही रकम माग गरेको छ ।
बानेश्वर र त्रिपुरेश्वरको सार्वजनिक शौचालय अपाङ्गमैत्री रहेको छ । भद्रकालीको शौचालयमा भने अपाङ्गमैत्री छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij