Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

उपत्यकामा सवारी दुर्घटना : अघिल्लो वर्षभन्दा १६ प्रतिशत कम

उपत्यकामा सवारी दुर्घटना : अघिल्लो वर्षभन्दा १६ प्रतिशत कम

  • काठमाडौं । उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

    images
    images
    images

    आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा एक सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा एक सय ८७ को मृत्यु र गत आवमा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो ।

    जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए ।

    चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए । जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ ।

    ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म चार लाख ७७ हजार तीन सय तीनजना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

    उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत रु ७२ करोड ६० लाख सङ्कलन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij