
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज खरीदका लागि लिएको ऋणको किस्ता ऋणदाता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिरेको छ । निगमले २०८१ असार मसान्तमा ४३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋण भुक्तानी गरेको हो ।
असार मसान्तमा ऋणको किस्ता बुझाइएको निगमले बुधवार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी र दुईओटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सन् २०१५ मा ऋण लिएको थियो । त्यसमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महीनाको किस्ताबापत पूरा र वाइडबडी जहाजकोे आंशिक रकम भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमले २०८१ असारसम्ममा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार रुपैयाँ ऋण भुक्तानी गरेको छ । विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले उक्त असर रहेको अवधिको ब्याज, हर्जाना र पेनल छूट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या बढाएर ऋण दायित्वको भुक्तानी सहज बनाइदिन निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोधपत्र पठाएको छ । उक्त विषयमा छलफल समेत भइरहेको उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij