Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।
स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।
औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ।
समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij