
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । अब एक घण्टाभित्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति पाउने भएका छन् । ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।
हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डिपी अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति दिन सकिने दाबी गरे ।
प्राविधिक समस्या, बिजुलीको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको दाबी गरे । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको भन्दै उनले यसका लागि कार्यालयका सबै कर्मचारीलाई धन्यवाद दिए ।
पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij