
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । जिल्ला अदालत ललितपुरकी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ मा बस्दै आएका समीर लामिछाने छन् । बुधबार अपराह्न करिब साढे ४ बजे वकिल लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार इजलासबाट भएको आदेश हेर्न पाउनुपर्ने भन्दै लामिछानेले फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नासु तामाङले फाइल दिन मानिनन् । प्रक्रिया पुर्याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने उनले जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले हातपात गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
लामिछानेले हातपात गर्दा नासु तामाङको ओठमा सामान्य चोट लागेको थियो । लगत्तै उनलाई स्थानीय मेडिकलमा लगिएको थियो । स्वास्थ्य परीक्षणपछि तामाङ दैनिक जीवनयापनमा फर्किइसकेकी छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा कारबाही अघि बढाउने तयारी गरेको छ । म्याद थपका लागि उनलाई भोलि जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेस गरिने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij