Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । मुलुकभर रहेका सहकारी संघसंस्थाले करिब ८८ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको एक सरकारी अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका झन्डै ३० हजार संघसंस्थामा ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको सहकारी विभागको अध्ययन प्रतिवेदनले देखाएको हो ।
ती सहकारी संस्थामा करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत संकलन भएको छ भने ४ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ लगानीमा रहेको विभागको तथ्यांक छ । ‘मुलुकभर रहेका सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रुपैयाँ छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारीमा कुल सदस्य सख्या, कुल सेयर पुँजी, कुल बचत संकलन, कुल ऋण लगानी तथा रोजगारी सिर्जनालगायतका सूचकमा भने वृद्धि भएको देखिन्छ ।’
नयाँ तथ्यांकअनुसार सहकारीको कुल संख्या घटेर २९ हजार ८ सय ८६ मा सीमित भएको छ । यसअघि सहकारी विभागले नै मुलुकभर सहकारी संघसंस्थाको संख्या ३४ हजार ८ सय ३७ बताउँदै आएको थियो । ‘सहकारी संघसंस्था एकीकरण भएको तथा कतिपय संस्था निष्क्रिय रहेकाले प्रारम्भिक सहकारीको संख्या यसअघिभन्दा कम रहेको आकलन गरिएको हो ।’ अहिले विभागले सात वटै प्रदेश तथा ७ सय ५३ स्थानीय सरकारको सहकार्यमा तथ्यांक संकलन गरी नयाँ गणना गरेको हो । प्रदेशगत रूपमा सहकारीको एकीकृत विवरण पहिलो पटक तयार पारिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij