Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

  • काठमाडौं । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको ज्यान गएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् । अझै कयौँ बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    images
    images
    images

    टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ । टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ । १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

    दर्जनौँ घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ ।

    सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ ।

    स्थानीय समयअनुसार सोमबार बिहान ४स्१७ मै गएको उक्त प्रकोपको अवधिमा अधिकांश मानिस घरभित्रै सुतिरहेकाले मानवीय क्षति बढी भएको अनुमान गरिएको छ । यति बेला टर्कीकै सुन्दर सहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् ।

    भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् । घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए ।

    यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ। अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो । भूकम्प पीडित शहरमा चारैतिर आतङ्क छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृश्य देख्न सकिन्छ ।

    मृतकको सङ्ख्या बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यस हप्ताको सुरुमा दक्षिणी टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पलाई शताब्दीकै ‘सबैभन्दा नराम्रो घटना’ भनेर उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij