काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् ।
सत्ता साझेदार दलहरूका विचमा मन्त्रालय बाँडफाँटको विषयमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाइने उनले बताएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।