
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको ग्लोबल आइएमई बैंकको नामबाट सोमबारदेखि संयुक्त कारोबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा एकीकृत कारोबार सुरु गरिएको हो ।
मर्जरपश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब रूपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदै जाँदा नागरिकको पहुँचमा कमी आउन दिन नहुने पनि बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन् । वित्तीय साक्षरता र स्वरोजगारमा पनि लगानी बढ्ने विश्वास छ ।’
बैंकका अध्यक्ष ढकालले देशले लिएको नीतिलाई सहयोग गर्दै २१ वटा बैंक तथा वित्तीय संस्था समाहित भएको बताए । ७७ वटै जिल्लामा शाखा सञ्चालन गरेको भन्दै गुणस्तरीय सेवामा कुनै पनि कमी नहुने उनले प्रतिवद्धता जनाए ।
यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार सुरू गरेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij