
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संशोधन गर्नुपर्ने भएपछी नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिए ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् ।
अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरूको विचमा सहमतिको प्रयास गरिने र सम्भवतः आउँदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव पुनले जानकारी दिए । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij