
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । सशस्त्र प्रहरी बल बाराले गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बाराको पचरौता नगरपालिका–४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले गुलरियास्थित नाकाबाट आउँदै गरेका ती भारतीय नागरिकलाई शंका लागि चेकजाँच गर्दा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेका छन् । पक्राउ परेका चन्दनकुमारको साथबाट दाहिना कम्मरमा होस्टाइलभित्र मोडल नम्बर २०२२ आरएफआई पेस्तोलमा तीन राउण्ड गोली लोड भएको अवस्थामा र चार राउण्ड केएफ ६.५ होस्टाइल राखिएको गरी एक थान पेस्तोल, उक्त पेस्तोलको म्यागेजिन र उक्त पेस्तोलमा लाग्ने सात राउण्ड गोली बरामद गरिएको छ ।
त्यस्तै, उनको साथबाट ११ हजार २७० भारतीय रुपैयाँ र भारतीय आधार कार्ड तीनवटा (आफ्नो, श्रीमती र दाईको नामको) पनि बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जिम्मा लगाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij