
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ ।
निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी समय सेवा गर्ने गरेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराजा श्रेष्ठले कर्मचारीले किताबखानामा हरेक वर्ष पेन्सन पट्टा बनाउन आउँदा चारदेखि पाँच जना उमेर हदभन्दा बढी समय सेवा गरेका कर्मचारी आउने गरेको बताउनुभयो ।
सेवामा प्रवेश गर्दा किताबखानामा बुझाउनुपर्ने शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता र वैयक्तिक विवरण (सिट रोल)मा उल्लेखित उमेर फरकफरक हुँदा हरेक वर्ष चारदेखि पाँच जना कर्मचारीले उमेर हदभन्दा बढी समय सेवामा बहाल हुने गरेको श्रेष्ठले स्पष्ट पार्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij