
Apr 22 2025 | २०८२, वैशाख ९ गते
महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फँडानी गर्ने भू–माफिया र मतियारविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको हो । त्यसअघि बर्दिवासवासीले यस भेगका सामुदायिक वन राजनीतिक संरक्षणमा मासिंदै गएकाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीले भन्नुभयो,“वन फँडानी गर्ने तस्कर र तिनका मतियारविरुद्ध कडा कारवाही गर्नोस् ।” वन फँडानीका घटनामा विगतमा राजनीतिक संरक्षण हुने गरेको स्वीकार्दै मुख्यमन्त्री राउतले अब दोषीलाई कारवाही गरेर छाड्ने बताउनुभयो ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख फाँडिएपछि जारी पुस महिनाको पहिलो सातादेखि नै यहाँ दिनहुँ सोविरुद्ध प्रदर्शन र कारवाहीको माग हुँदै आएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले आफ्नो निजी जग्गाको रुख भन्दै सो कटानका लागि बर्दिवास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिकै सहमति पाएपछि पुसको पहिलो सातामा रातारात वन फँडानी भएको थियो ।
आचार्य र गौतमले साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ ९हाल बर्दिबास नगरपालिका–१० को कित्ता नम्बर–२ को ०१–०२–११ ९एक बिघा दुई कठ्ठा ११ धुर० जग्गामा आफैँले रोपी हुर्काएको रुख कटानका लागि डिभिजन वन कार्यालय महोत्तरीमा स्वीकृतिका लागि गत असोजमै निवेदन दिएका थिए । सो निवेदनको प्रक्रियामा बर्दिबास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिले रुख काट्न मिल्ने सहमति दिएपछि डिभिजन वन कार्यालयले कटान आदेश दिएको थियो ।
यसैगरी डिभिजन वन कार्यालयले गलत सूचना र टिप्पणी लेख्ने आफ्नै सातजना कर्मचारीविरुद्ध कारवाही थालेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । बर्दिबासमा वर्सेनी वन क्षेत्र अतिक्रमण हुने क्रम भने बढ्दै नै गएको छ । गत वर्ष बर्दिवास–१, ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको प्लट नम्बर पाँचभित्र करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण भएको सीमाङ्कन गरिएको थियो । प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव पे्रमनारायण कँडेलकै उपस्थितिमा भएको सीमाङ्कनअनुसार अतिक्रमण हटाउन डिभिजन वन कार्यालय र सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले कुनै तदारुखता नदेखाएको बर्दिवासबासीको गुनासो छ ।
जिल्लामा जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको अभिलेख र स्रेस्ता रहेपनि वर्सेनी हुने वन अतिक्रमण र त्यसको रोकथाममा देखिएको उदासीनताले अब वन क्षेत्र करीब १६ हजार हेक्टरमा खुम्चिएको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले वन अतिक्रमणविरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएपछि केही हुने आश भने पलाएको बर्दिबासबासी बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij