Jun 10 2026 | २०८३, जेठ २७ गते

-नरिश्वर गौतम
लामखुट्टे
निदाएथेँ कानमा आई कसले गुनगुनायो
सपना नै टुट्ने गरी को पो भुन्भुनायो
त्यस्तो मस्त निद्राबाट कसले बिउँझाइदियो
एकोहोरो शङ्ख फुकी कसले झस्काइदियो ?
हातखुट्टा शरीरभरि चिलायो बिछट्ट
ऐनामा गई अनुहार नि हेरिहालेँ झट्ट
जता हेर्छु शरीरमा उतै फोकैफोका
यति धेरै माया गरी कसले दियो धोका ?
यताउति हेरेँ उठी मिच्दै दुवै आँखा
सिरक पर्दा हल्लाउँदा उडे दुईचार माखा
रिस उठ्यो मार्छु भनी छोप्न खोजेँ हेर
उड्छन् फेरि मुखैनेर आउँछन् कतिखेर ।।
होइन रहेछ कोही भनी फेरि सुत्न गएँ
निदाउनै नपाई फेरि अचम्मित भएँ
कानमै आई रेट्यो फेरि सारङ्गी र्याइँर्याइँ
भनेजस्तो कसैले लाग्छ ज्वाइँ ज्वाइँ ।।
कसोकसो निदाएछु थालेछु म घुर्न
बसी मेरो गालामा पो थाल्यो चुम्बन गर्न
निदैनिदमा प्याट्ट हानेँ पड्क्यो आफ्नै गाला
मर्यो दुष्ट लामखुट्टे परी बल्ल फेला ।।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij