
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।
बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा ४६, २०७६/७७ मा ३५ र २०७५/७६ मा २९ सुत्केरीको ज्यान गएको थियो ।
अधिकांश महिलाको सुत्केरीपश्चात् अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको तथ्यांक छ । २९ प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमी भएर मृत्यु भएको पाइएको छ ।
मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका छन् । गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कल्पना थापाले बताइन् ।
मातृ मृत्युदर बढ्नुमा बालविवाह, उमेर नपुग्दै गर्भवती, पोषणको कमीलगायत कारण रहेको उनले बताईन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij