
Apr 21 2025 | २०८२, वैशाख ८ गते
खोटाङ । खोटाङका चार स्थानीय तहमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेद्वारी परेको छ ।गठबन्धन दलकोतर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेद्वार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेद्वारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।
बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेद्वारी परेको छ । पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध एमाले बराहपोखरी गाउँपालिका अध्यक्ष दीर्घबहादुर मगरले अध्यक्षमा बागी उम्मेद्वारी दर्ता गरेका हुन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुरेश राई र विश्वराज राईले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्ष नइन्द्र राई उम्मेद्वार बनेको अवस्थामा कांग्रेसकै कार्यकर्ता सुरेशले स्वतन्त्रमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेद्वारी दिने सहमति थियो । तर, मेयरमा कांग्रेसकै तीर्थराज भट्टराई र धर्मराज पोखरेलको उम्मेद्वारी दर्ता भएको छ । टिकटमा कांग्रेसबीच भएको विवादपछि माओवादी केन्द्रकातर्फबाट मेयरमा दुर्गाजयन्ती राईले पनि उम्मेद्वारी दिएकी छन् । माओवादी केन्द्रकै नेता विकास राईले पनि स्वतन्त्र मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेद्वारका विषयमा कांग्रेसभित्रको किचलो देखेर जनता समाजवादीका सूर्यबहादुर राईले मेयर र नेकपा एकीकृत समाजवादीका भागवत घिमिरेले उपमेयरमा उम्मेद्वारी दिएका छन् । यद्यपि, उम्मेदवारको नाम फिर्ता लिने समयभित्र छलफल गरेर आधिकारिक उम्मेदवारलाई मात्र चुनावी मैदानमा उतार्ने गठबन्धन दलको तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij