
Apr 08 2025 | २०८१, चैत २६ गते
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि चैत्र २५ गतेबाट निर्वाचन आचारसंहिता लागु गरेको छ । वैशाख ३० गतेको लागि निर्धारित सो स्थानीय तहको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय ललितपुरको तयारी र वर्तमान अवस्थाका बारेमा जिल्ला निर्वाचन कार्यालय ललितपुरकी निर्वाचन अधिकृत गोमा धमला घिमिरेसँग अनलाइन पत्रिकाका लागि अस्मिता केसीले गरेको अन्तर्वाताको सम्पादित अंशः
अहिले के गर्दै हुनुहुन्छ ?
निर्वाचन आयोगले मतदान केन्द्रमा प्रयोग हुने १५ किसिमका मतदान सामग्रीहरू खरिद गर्नको लागि निर्देशन दिएको हो । जसमा मतदान स्थलमा प्रयोग हुने स–साना सामग्रीहरू मैनबत्ती, सलाई, सियो, खामहरू लगायतका १५ किसिमका सामग्रीहरू खरिद प्रक्रियामा हामी गइसकेका छौँ ।
यही २९ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति हुँदैछ । त्यपछि यस ललितपुरमा रहेका ६ वटा स्थानीय तहमा वैशाख ८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ । सोही कार्यालयमा प्रयोग हुने तथा मतदान स्थलमा प्रयोग हुने ७२ प्रकारका अनुसूची फारामहरू पनि छपाई गर्ने कार्य भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि हामीले स्थानीय तह सदस्य निर्वाचनको लागि जनशक्ति व्यवस्थापनको लागि तयारी गरेका छौँ । जसको लागि प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जिल्लास्थित सरकारी तथा अर्ध सरकारी कार्यालयहरू, स्थानीय तहका कर्मचारी, शिक्षक आदिको विवरण सङ्कलन गरी जनशक्ति व्यवस्थापनको लागि तयारी गरिरहेका छौँ ।
कति राजनीतिक दलहरू छन् ?
यस ललितपुुर जिल्लाभर राष्ट्रियस्तरका मान्यता प्राप्त बाहेका ३१ दल दर्ता छन् । जसमा ६ राष्ट्रियस्तरका गरी जम्मा ३७ वटा दल दर्ता छन् । २०७४ सालको निर्वाचनमा पनि ३७ वटा नै थिए । स्वतन्त्र उम्मेदवारको हकमा भने १८ गते उम्मेदवारी दर्ता पछि नै थाहा हुन्छ ।
कस्तो देखिँदैछ राजनीतिक वातावरण?
राजनीतिक वातावरण त यतिबेला समान्य खालको नै छ । यहाँस्थित राजनीतिक दलहरूले मर्यादित तरिकाले नै चुनावको प्रचार गरेको देखिन्छ । हाम्रो तयारीलाई नै असहज पर्ने तथा जनतालाई नै समस्या हुने खालको अवस्था सिर्जना भएको पाइँदैन ।
उम्मेदवारहरूले राजस्व तिरेर मतदाताहरूको सूची लैजाने कार्य भइरहेको छ । जसमा कुनै एक वडा भित्रका मतदाताको सूची लैजानको लागि ५०० रुपैयाँ, पालिका भित्रका मतदाताको सूची लैजानको लागि १००० रुपैयाँ र समग्र जिल्ला भित्रका मतदाताको सूची लैजानको लागि ३००० रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ । यो मतदाता नामावली लिनका लागि उम्मेदवार हुनपर्ने र राजनीतिक दलको प्रमाणित सिफारिस भए मात्र दिइने छ ।
ललितपुर जिल्लामा कति मतदाता र मतदान स्थल छन्?
२०७८ चैत्र १३ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार २०७९ वैशाख २९ गतेसम्म मतदान गर्न योग्य यस जिल्लाको मतदाता संख्या २ लाख ४३ हजार ८८४ जना रहेको छ । जसमा १ लाख २४ हजार ९५० महिला, १ लाख १८ हजार ९३३ पुरुष र अन्य १ जना रहेका छन् । ललितपुर जिल्लाभर १३१ मतदान स्थल रहेका छन् भने २८८ मतदान केन्द्र रहेका छन् ।
संवेदनशील मतदानस्थलको लागि तयारी के छ ?
६ स्थानीय तह रहेको यस जिल्लामा संवेदनशील र सामान्य गरी दुई तरिकाले मतदान स्थल छुट्टाइएको छ । सामान्यमा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका रहेका छन् । यस्तै संवेदनशीलमा बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका र महाकाल गाउँपालिका रहेका छन् ।
संवेदनशील भनिएका स्थानमा विशेष सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीघनश्याम उपाध्यायको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतहामीले केही दिनअघि मात्रै त्यस स्थानको स्थलगत अनुगमन गरेका छौँ । त्यसै अनुरूप सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तयारी गरेका छौँ । त्यसै अनुरुप सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तयारी गरेका छौँ ।
सोमबार प्रकाशित हाम्रो छाँपा संस्करण ‘अनलाइन पत्रिका’मा मतदान केन्द्र २८८ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij