
Apr 09 2025 | २०८१, चैत २७ गते
लमजुङ । लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुनः सडक अवरुद्ध गरेका छन् । मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको नदीले बगाउँदा मृत्यु भएको थियो ।
बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले जनाएको छ । तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नुपरेको पीडित परिवारले जनाएको छ ।
फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए । प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो । डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिएपनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान हुन्छ भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् ।
विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, २ वटा स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेका थिए ।
किटानी जाहेरी किन ?
होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङदीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij