Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

‘न बिर्सेँ तिमीलाई’ भन्दै अन्जुले मुख खोलिन् !

‘न बिर्सेँ तिमीलाई’ भन्दै अन्जुले मुख खोलिन् !

  • काठमाडौँ । गायिका रचना रिमालले गाएको ‘न बिर्सेँ तिमीलाई....’ नयाँ भर्सनले विवाद उत्पन गराएपछि गायिका अन्जु पन्तले यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले रचनाको आवाजमा हालै निकालिएको उक्त गीतप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा धारणा व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    उनी लेख्छिन्ः मेरा सम्पूर्ण श्रोता, दर्शक तथा शुभचिन्तकमा अभिवादन भर्खरै पुनः रेकर्ड भएर युट्युबमा सार्वजनिक भएको न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरूले जिज्ञासा र चिन्ता व्यक्त गर्नुभएको पाएँ । हाल म काम विशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु । 

     
    यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राज भण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदीश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नुभएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ ।

    यस क्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरूलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुसीसाथ हुन्छ भनेकी थिएँ । अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाहिँ दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ । आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस् । मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरूबाट पाएको माया र सम्मानप्रति सदैव आभार व्यक्त गर्दछु ।

    अन्जु पन्त

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij