
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि त्यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् ।
हुम्लामा मंसरको दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि त्यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि त्यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् ।
मंसिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसँैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ ।
चिसो छल्नका लागि बेंसी झर्नेमा विशेष गरेर उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक छन् । हिउँदका तीन महिना पुस, माघ र फागुनमा उतैतिर न्यानो हुने भएको हुँदा वृद्धवृद्धा जिल्ला बाहिरिन थालेका छन् ।
त्यस्तै, जिल्लाको मध्य क्षेत्र रहेको सर्केगाड, दक्षिण क्षेत्र अदानचुली, ताँजाकोट र चङ्खेली गाउँपालिकाका नागरिक भने गाडीमा बाहिरिने गरेका छन् ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अझैसम्म पनि सडक सञ्जालले नछोएको हुँदा माथिल्लो भेगका नागरिकलाई सजिलै जिल्ला बाहिर जान समस्या हुने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij