
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१.गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेकी हुन् । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल-श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल- श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए । यस्तै कार्यवाहक राजूदतले पनि नेपाल-श्रीलंकाबीचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन् । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताइन् ।
२.राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई सम्मानित गरेका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन् । नेपालका एमएमएन फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुगेका थिए । उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका थिए । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट जितेका थिए ।
३.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । भारतीय मिडियाहरुका अनुसार मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका हुन् । यो भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ । २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हुनेछ । यसअघि, प्रधानमन्त्री मोदी अगस्ट ३० मा जापानको भ्रमण गर्नेछन् । यहाँ उनी भारत-जापान शिखर सम्मेलनमा भाग लिनेछन् ।
४.नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा कांग्रेस-एमाले बाहेकका दलका नेताहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न संसदमा रहेका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसिरहेको हो । बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमत पार्टी र नाउपाका नेताहरु सहभागी रहेका छन् ।
५.गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएको जानकारी दिएको छ । स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो । गायक शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
६.कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले मन्त्रिपरिषद्को सिफारिस अनुसार आजै राति राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन गत बैशाख २८ गतेदेखि शुरु भएको थियो । यस अघि आजै बसेको कर्णाली सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने सिफारिश गरेको थियो ।
७.देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो। यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।
८.नेकपा एमालेका सांसद गोकुल बास्कोटाले रास्वपा र राप्रपासँग आफुहरुले उठाएका प्रश्नको तथ्य नभएको जिकिर गरेका छन् । प्रतिनिधीसभाको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले रास्वपा र राप्रपासँग जवाफ नभएका कारण संसदमा फेस गर्न नसकेर संसद बहिष्कार गरेको आरोप लगाए । उनले भने- 'साथीहरु आउनुहुन्छ, कहिले नाराबाजी गर्नुहुन्छ, कहिले पलेटी मार्नुहुन्छ, कहिले कक्षा कोठा जस्तो होमवर्क गर्नुहुन्छ, कहिले निलो स्कार्प प्रदर्शन गर्नुहुन्छ । अब हुदा हुदा दुई मिनेट उभिनुहुन्छ, एकोहोरो शंख फुक्नुहुन्छ, अनि लुरुलुरु मौन यात्राका मलामी जस्तो बनेर बाहिर निस्किनुहुन्छ, न कसैको कुरा सुन्नुहुन्छ न आफ्नो भन्नु हुन्छ । यो किन ? यस्तो अवस्था किन बन्यो भने उहाँहरुसँग जवाफ छैन । जे प्रश्न उठाउनु भएको छ, त्यसको तथ्य छैन । उहाँहरुसँग नैतिकताको मुल्यको कसीमा जाँचिन क्षमता छैन आँट छैन हिम्मत छैन ।'
९.नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले आफु सगरमाथा बेस क्याम्पमा जादा २१ दिनको संसद बैठकको भत्ता नलिएको उल्लेख गर्दै अहिले रास्वपाका सांसदले बैठक बहिष्कार गरेको भत्ता लिएका छन् की छैनन् भन्दै प्रश्न गरेका छन् । उनले भने- म २१ दिनको समय अवधि हिमाल आरोहणमा गएको बेला पत्र लेखेर यो अवधिमा संसदमा उपस्थित हुन सक्दिन भनेर जानकारी दिए बमोजिम, सोहि अनुसार म काममा नलागेको बेलाको रकम मेरो खातामा पठाएको छैन । तर आज नैतिकताको प्रश्न गर्दैगर्दा दैनिक रुपमा संसदमा उपस्थित हुने, नियमित रुपमा बैंक खातामा जाने काम भएको छ की छैन । साथीहरुले जनताले तिरेको करको पैसाको गरिमा राख्नु भएको छ की छैन ।'
१०.नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका छन् । लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताए । उनले भने- 'नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो । कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।'
११.संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिएका छन् । बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताएका हुन् ।
१२.राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद झाले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद कार्कीले संसदमा विरोध जारी रहदा पनि सभामुखले संसद चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
१३.भारतको उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ । राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलीहरू सामेल रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन् । एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने अनुसार अहिलेसम्म १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै अहिलेसम्म चार जनाको मृत्यु भएको छ र १०० भन्दा बढी व्यक्ति हताहत, बेपत्ता हुन सक्ने आंकलन रहेको उनले बताएका छन् । यद्यपि स्थानीय प्रशासनले अहिलेसम्म कति बेपत्ता छन् भन्ने पुष्टि हुन नसकेको बताएको छ । मंगलबार दिउसो उत्तरकाशीको खीरगंगा नदीमा बादल फाटेपछि अचानक आएको बाढीले धराली बजार बगाएको थियो ।
१४.दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ । प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।
१५.प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुई पक्षीय भेटवार्ता भएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच आज भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय हित र सम्बन्ध विस्तारको विषयमा छलफल भएको थियो ।
१६.नेपाली कांग्रेसका सांसद संजय गौतमले सरकारको विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संसाद गौतमले आफ्नो बर्दिया जिल्लाको नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सुटुक्क नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आफ्नो कुरा सरकारले नसुनेमा सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् । उनले भने- अन्याय भयो, सरकारले सुन्दा पनि सुनेन देख्दा पनि देखेन, बर्दियाको बबई, भादा, औरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेल्धुरा पुर्याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले मेरो कुरा सुनेन । सरकारले मेरो कुरा सुनोस, हैन भने आफ्नै सरकारका विरुद्ध आफ्नै सांसद सत्याग्रहको रुपमा उभिन्छु । म घोषणा पनि गर्न चाहन्छु ।'
१७.अमेरिकी राज्य एरिजोनाको नाभाजो राष्ट्र क्षेत्रमा सानो मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा विमानमा सवार चार जनाको मृत्यु भएको मिडिया रिपोर्टमा बताइएको छ । यस दुर्घटनामा संलग्न विमान बीचक्राफ्ट किंग एयर ३०० थियो, जुन सीएसआई एभिएसन कम्पनीको थियो । यो विमान न्यू मेक्सिकोको अल्बुकर्क शहरबाट उडान भरेको थियो र दुई पाइलट र दुई स्वास्थ्यकर्मीहरू सवार थिए ।
१८.नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मुल्य अहिलेसम्मकै सबै भन्दा बढी तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २२८० मा कारोबार भएको थियो ।
१९.नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।
२०.बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा बहुप्रतिक्षित संसदीय चुनाव फेब्रुअरी २०२६ मा हुने घोषणा गरेका छन् । देशलाई टेलिभिजन सम्बोधन गर्दै मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गराउन निर्वाचन आयोगलाई औपचारिक अनुरोध गर्ने बताएका हुन् । शेख हसिनाले राजीनामा दिएर देश छोडेर भागेको ठीक एक वर्षपछि २०२४ मा बंगलादेशमा आम चुनावको घोषणा गरिएको थियो । विद्यार्थीहरूको नेतृत्वमा हिंसात्मक विरोध प्रदर्शनपछि गत वर्ष अगस्ट ५ मा शेख हसिनाको १५ वर्षे शासन समाप्त भएको थियो । युनुसले देशमा आम चुनाव अर्को वर्ष रमजानअघि समाप्त हुने बताए । उनले भने- 'हाम्रो लोकतन्त्रको अर्को अध्यायलाई आकार दिन जनतालाई आफ्नो आवाज उठाउने अधिकार छ ।' उनले मतदानको सही मिति निर्वाचन आयोगले तय गर्ने पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij