
Aug 09 2025 | २०८२, साउन २४ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१.प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् । आज रक्षाबन्धनको अवसरमा प्रधानमन्त्री ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो ।
२.कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद बढेको छ । सरकारको नेतृत्व गरिरहेको एमालेले कांग्रेसले गठबन्धन संस्कृति अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ । एमालेले काँग्रेसले सरकारमै रहेर प्रतिपक्षी दल जस्तो व्यवहार गरिरहेको आरोप लगाइरहेका बेला शनिबार सत्ता गठबन्धनको संयन्त्रको बैठक बसेको छ । बैठकले दुवै दलबीचको विवाद साम्य पार्ने प्रयासको रुपमा हेरिएको छ । बैठकमा मुख्यमन्त्री यामलाल कँडेलसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लगायतका नेताहरुले पछिल्लो विवाद बारे छलफल गरेका छन् ।
३.जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई शनिबार सार्वजनिक गरिएको छ । उनीहरुको साथबाट पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ नगदसमेत बरामद भएको छ । अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना पोखरा महानगरपालिका वडा नं २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षका सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा, ४९ वर्षीय प्रोभास माझी छन् ।
४.नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन जारी रहेको छ । अहिलेसम्म फ्रेन्चाइजीहरुले खेलाडी किन्नेक्रम जारी रहेको छ । मिनी अक्सनको पहिलो ब्रेकसम्म ११ खेलाडीलाई बिभिन्न फ्रेन्चाइजीले किनेका छन् । जसमा देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले १५-१५ लाखमा किनेको छ भने अलराउन्डर पवन सराफलाई कर्णाली याक्सले १५ लाखमा किनेको छ ।
५.आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-३ मुसाङखेल बस्ने ४५ वर्षीय होम बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६.पाल्पा र दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् । पाल्पा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेझाड डेरा गरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ घर भएका २८ वर्षीय धन रासी विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दाङ, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
७.युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्प-पुटिन भेटवार्तामा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले स्पष्ट रूपमा युक्रेनले रूसलाई आफ्नो भूमि नदिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताको घोषणा गरेपछि जेलेन्स्कीको यो बयान आएको हो । ट्रम्प र पुटिनबीचको भेटवार्ताको घोषणा अमेरिकी राष्ट्रपतिले युक्रेनले रूससँगको युद्ध अन्त्य गर्न आफ्नो क्षेत्र त्याग्नुपर्ने हुन सक्छ भन्ने संकेत गरेको केही घण्टापछि आएको हो ।
८.नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक आगामी भदौ ४ गते र भदौ ५ गते पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । त्यसपछि भदौं ७ र ८ गते केन्द्रीय कमिटी बैठकसुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्ने महासचिव भुसालले जानकारी दिएका छन् । सबै बैठक ११ बजे सुरु हुने बताइएको छ ।
९.कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितीलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् । कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् । कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ ।
१०.साम अल्टम्यानको कम्पनी ओपनएआईले आफ्नो नयाँ एआई मोडेल च्याटजीपीटी-५ लाई निकै धुमधामका साथ सार्वजनिक गरेको छ । तर धेरैले यसको आलोचना गरिरहेका छन् । प्रयोगकर्ताहरूले यसप्रति निराशा व्यक्त गरेका छन् । उनीहरूले नयाँ मोडेल मन नपरेको र यो पुरानो भन्दा खराब रहेको प्रतिक्रिया दिएका छन् । ठूलो संख्यामा प्रयोगकर्ताहरूले च्याटजीपीटी-५ बाट निराश महसुस गरिरहेको बताएका छन् । प्रमुख प्राविधिक वेबसाइटहरूले पनि यो यस बारे टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा च्याटजीपीटी-५ ले पनि आलोचनाको सामना गरिरहेको छ । रिपोर्टका अनुसार प्रयोगकर्ताहरूले ओपनएआईले च्याटजीपीटी-५ को गुणस्तर घटाएको दाबी गरिरहेका छन् ।
११.जम्मू कश्मीरको अखलमा विगत नौ दिनदेखि भइरहेको भिडन्तमा दुई भारतीय सेनाका सैनिकले ज्यान गुमाएका छन् । भारतीय सेनाको चिनार कोर्प्सले राष्ट्रको लागि आफ्नो कर्तव्य निर्वाह गर्दा वीर लान्स नायक प्रीतपाल सिंह र सिपाही हरमिन्दर सिंहको मृत्यु भएको जानकारी दिएको छ । भारतीय सेनाले यस भिडन्तमा एक अतिवादीलाई मारेको दाबी गरेको छ भने धेरै सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।
१२.गुल्मीको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाईजात्रा पर्वको अवसरमा आइतबार गाउँपालिकाले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाभित्र सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने र यस क्षेत्रमा विशेष रूपमा मनाइने भएकाले गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ । जारी सूचनामा बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालयसहित अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थाहरू बन्द रहने उल्लेख छ ।
१३.अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा निधन भएको छ । लोभेलले १९७० मा अपोलो १३ अभियानलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउन मद्दत गरेका थिए । नासाले उनले सम्भावित त्रासदीलाई सफलतामा परिणत गरेको उल्लेख गरेको छ । अन्तरिक्ष यान पृथ्वीबाट हजारौं माइल टाढा रहेको बेला चन्द्रमामा अवतरण गर्ने प्रयासको क्रममा अन्तरिक्षयान विस्फोट भएको थियो । त्यसपछि अरबौं मानिसहरूले टेलिभिजनमा लोभेल र दुई अन्य अन्तरिक्षयात्रीहरू प्रशान्त महासागरमा अवतरण गरेको देखे, जुन क्षण अन्तरिक्ष यात्राको इतिहासमा सबैभन्दा अविस्मरणीय क्षणहरू मध्ये एक बन्यो । लोभेल पनि अपोलो ८ अभियानको हिस्सा थिए, दुई पटक चन्द्रमामा उडान गर्ने तर वास्तवमा त्यहाँ कहिल्यै अवतरण नगर्ने पहिलो व्यक्ति पनि हुन् ।
१४.जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गएराती कारागारमा कैदीबिच भएको झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको थियो । झडपमा गम्भीर घाइते भएका धनगढी उपमहानगर-४ का भरत चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरी लागुऔषध मुद्दाका कैदी थिए । त्यस्तै झडपमा ४७ जना घाइते भएका छन । घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान समेत कडाइ गरेको छ । यसैबीच घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई १० भित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।
१५.आर्मेनिया र अजरबैजानबीच दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ह्वाइट हाउसमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशका नेताहरू बीचको वार्ताको आयोजना गरेका थिए । सम्झौतापछि अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभ र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले हात मिलाए । अमेरिकी राष्ट्रपतिले उक्त क्षणलाई 'ऐतिहासिक' घटनाको रूपमा वर्णन गरे । सम्झौताले दुई देशहरू बीचका केही प्रमुख यातायात मार्गहरू पुन: खोल्नेछ र यस क्षेत्रमा अमेरिकी प्रभाव बढाउनेछ ।
१६.भारतका चर्चित कमेडी कलाकार कपिल शर्मालाई सलमान खानसँग काम नगर्न धम्की आएको छ । इन्डिया टुडेका अनुसार लरेन्स बिश्नोई गिरोहका एक सदस्यले कपिललाई सलमान खानसँग काम गर्ने जो कोहीलाई पनि मारिने भन्दै चेतावनी दिएका छन् । 'द ग्रेट इन्डियन कपिल शर्मा शो' को पहिलो एपिसोडमा सलमान खान पनि देखिएका थिए। गत महिना, जुलाई १० मा, कपिल शर्माको क्यानडामा रहेको क्याप्स क्याफेमा गोलीबारी गरिएको थियो । गोलीबारी गर्ने व्यक्तिहरूले यसको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । क्याफेमा १० देखि १२ राउन्ड गोलीबारी गरिएको थियो । त्यसपछि विहिबार दोस्रो पटक कपिलको क्यापेमा गोली चलाइएको छ । खालिस्तानी हरजीत सिंह लड्डीले अन्तिम गोलीबारी भएको जिम्मेवारी लिएका थिए । हरजीत सिंह लड्डी एनआईएको मोस्ट वान्टेड आतंककारीहरूको सूचीमा समावेश छन् र बब्बर खालसा इन्टरनेशनलसँग सम्बन्धित छन् । अब लरेन्स बिश्नोई गिरोहले नयाँ आक्रमणको जिम्मेवारी लिएको छ ।
१७.इजरायलले गाजाको नियन्त्रण लिने सुरक्षा मन्त्रिपरिषद्को योजनाको बारेमा विश्वव्यापी रूपमा भइरहेको आलोचनालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलको निन्दा गर्ने र प्रतिबन्ध लगाउने धम्की दिने देशहरूले 'हाम्रो संकल्पलाई कमजोर' नबनाउने बताए । उनले भने- 'हाम्रा शत्रुहरूले हामीलाई बलियो, एकताबद्ध मुट्ठीको रूपमा पाउनेछन् जसले उनीहरूमाथि ठूलो बल प्रयोग गर्नेछ ।' संयुक्त राष्ट्र संघ, बेलायत, फ्रान्स र क्यानडा लगायत धेरै देशहरूले गाजाको नियन्त्रण लिने इजरायलको निर्णयको निन्दा गरे र जर्मनीले इजरायलमा सैन्य निर्यात रोक्न आह्वान गरेको छ । इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको थियो । इजरायलले गाजाको नियन्त्रण लिन र युद्ध अन्त्य गर्न हमासले आफ्ना हतियारहरू आत्मसमर्पण गर्नुपर्ने, सबै बन्धकहरूको फिर्ती, गाजाको निशस्त्रीकरण, गाजामा इजरायलको सुरक्षा नियन्त्रण र हमास र प्यालेस्टिनी प्राधिकरणबाट मुक्त वैकल्पिक नागरिक सरकार गरी पाँच एजेण्डामा काम गर्ने बताएको छ ।
१८.अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिममा नयाँ खेलाडीलाई समावेश गराउन छनौट प्रक्रिया शुरु गरको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यू रसले ३९ खेलाडीहरूलाई सिनियर टोलीको छनोट कार्यक्रममा सहभागी गराउन छनौट प्रक्रियाका लागि बोलाएका छन् । छनोट कार्यक्रम अगस्ट १० देखि १२, २०२५ सम्म एन्फामा हुने भएको छ । छनोटमा सफल खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा समावेश गरिने एन्फाले जनाएको छ । छनौट प्रक्रियाका लागि बोलाइएका खेलाडीहरु: गोलकिपर: विशाल सुनार, प्रमिजय गच्छदार र टिकेन्द्र थापा । डिफेन्डर: अमृत श्रेष्ठ, कुलदीप कार्की, सृजनराज गौतम, योगेश गुरुङ, पदम भट्टराई, देवेन्द्र तामाङ, आशिष गुरुङ, छिरिङ गुरुङ, दिपेश धिमाल, दिवाकर चौधरी, एकराज बुढाथोकी र मनोज राई । मिडफिल्डर: कुशल देउवा, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, शिशिर लेखी, रामचन्द्र वाजी, रणदिप पौडेल, विवेक पौडेल, जय गुरुङ, सुवास बम, अजित लामा, दिवास छन्त्याल र आशिष सोनम । फरवार्ड: प्रतापसिंह राई, फगुराम थारु, ओमप्रकाश, मिलन राई, आदित्य शाक्य, निरज चौधरी, दिनेश हेञ्जन, प्रदीप लामा, निरजन धामी, समिर तामाङ, विक्रान्त नरसिंह राणा र अमित लामा । नेपालले सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा बंगलादेश पुरुष राष्ट्रिय फुटबल टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
१९.प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले विद्युत आयात परिमाण घटाउँदै लगेको उल्लेख गर्दै साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको उल्लेख गरेका हुन् । साथै उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन् । उनले भनेका छन्- हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफलता पाएका छौं ।
२०.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका छन् । डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँगको बहुप्रतिक्षित भेटघाट अर्को शुक्रबार, अगस्ट १५, २०२५ मा अलास्काको ग्रेट स्टेटमा हुने जानकारी दिएका हुन् । अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटघाटको घोषणापछि, रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने- 'रूस र अमेरिका नजिकका छिमेकी हुन्, जसले एकअर्कासँग सीमा साझा गर्छन् । दुई देशका नेताहरू बीचको यस्तो महत्त्वपूर्ण र प्रत्याशित शिखर सम्मेलन अलास्कामा हुनु राम्रो हो । उशाकोभका अनुसार, अलास्का पछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ र यसको लागि निमन्त्रणा पहिले नै दिइसकिएको छ । यसअघि २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसको भ्रमण गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij