
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । शुक्रबार (आज) दिउँसो १ बजे भृकुटीमण्डपमा पार्टीको महाधिवेशन उद्घाटन हुन लागेको हो ।
उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करीब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ हुन लागेको सो महाधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने पार्टी प्रवक्ता शर्माले जानकारी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij